गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जाका आधारमा प्रवाह भएको १९ करोड रुपैयाँ कर्जा प्रकरणमा ठगी गर्नेलाई कुमारी बैंक आफैंले सहयोग गरेको खुलासा भएको छ । बैंकमा पेस भएको लालपुर्जा नक्कली भएको थाहा पाएपछि पनि बैंकले जग्गा धनी तथा प्रहरी कसैलाई पनि खबर नगरी भित्रभित्रै मिलाउन खोजेर सरकारी कागज किर्ते गरी ठगी गर्ने गिरोहलाई सहयोग गरेको खुलेको हो । सरकारी कागज किर्ते तथा ठगीको घटना लुकाउन बैंकले नै सहयोग गरेको भेटिएपछि प्रहरी अनुसन्धान बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुजमणि तिमिल्सिनातिर सोझिएको छ ।
नक्कली लालपुर्जा बनाउन कुमारी बैंकका पर्सा शाखा हुँदै काठमाडौंको न्यूरोड शाखा र नक्सालमा रहेको केन्द्रीय कार्यालयका कर्मचारी सामेल भएको खुलेपछि अनुसन्धानमा सिइओ तिमिल्सिना समेत तानिएका हुन् ।
अमात्यको बारा विश्रामपुरस्थित बिरुवा भूमि वनकाली कम्पनीको नाममा रहेको १२ बिघा जग्गा अर्कैको नाममा रहेको नक्कली कागजात बनाएर काठमाडौंका कुसन प्रधान, एसके महर्जन र मुक्तिलाल गौतमले कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएका थिए ।
अमात्यले आफ्नो जग्गाको नक्कली लालपुर्जा बनाएर बैंकबाट ऋण लिएको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई गरेपछि सुरुमा तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाहेक प्रहरीले पर्सास्थित कुमारी बैंक शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्याङ्कनकर्ता राजेश चौरसियालाई समेत पक्राउ गरेर अनुसन्धान थालेको छ । सिआइबी स्रोतका अनुसार पर्सा शाखाका एक कर्मचारी अझै फरार छन् ।
एसके महर्जन समूहले धितोमा राखेको जग्गाको लालपुर्जा नक्कली हो भन्ने खुलेपछि बैंकले गोप्य रूपमा एसके र मुक्तिलाललाई नयाँ धितो कायम गर्न लगाएर बदमासी गरेको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न सिआइबीका एक प्रहरी अधिकारीले बताए । उक्त कुरा बैंकले सम्बन्धित जग्गाधनी अथवा प्रहरी कसैलाई पनि जानकारी दिएको थिएन ।
सिआइबी प्रमुख डिआईजी धिरजप्रताप सिंहले जग्गाको नक्कली लालपुर्जा राखेर पर्सा हुँदै केन्द्रीय कार्यालसम्म पुग्दा पनि बैंकले ऋण दिनुले यसमा बैंकका उच्च अधिकारी समेत संलग्न रहेको संकेत गर्ने बताए ।
