नेपालमा पहिलोपटक १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदैछ । सरकारले अमेरिकी कम्पनी फाइजरले उत्पादन गरेको खोप पहिलोपटक १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाउने भएको हो । खोप पर्याप्त नभएकाले पहिलो चरणमा दीर्घरोगीलाई मात्रै लगाउने सरकारको तयारी छ ।
सरकारले १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर-किशोरीलाई लक्षित गरेर आजबाट फाइजर बायोएनटेक खोप अभियान सञ्चालन गर्न लागेको हो । यो खोपको पहिलो मात्रा मंसिर ४ गतेसम्म लगाउन मिल्नेछ । सरकारले यसका लागि फाइजरको ५० हजार डोज खोप छुट्याएको छ । सरकारले तोकेका देशभरका २४ अस्पतालमा यो खोप लगाउन पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघिका खोप अभियानमा खोप लगाउन छुटकोलाई मंसिर ५ देखि ७ गतेसम्म फाइजरको खोप लगाउने सरकारको तयारी छ । यसअघि पटकपटक सञ्चालन गरिएका खोपअभियानमा सरकारले १८ वर्षमाथिको उमेर समूहका नागरिकलाई समेटेको थियो ।
फाइजर खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनभित्र लगाउनुपर्ने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । फाइजरको खोप १२ वर्षभन्दा माथिकालाई दिन मिल्छ । यसअघि लगाइएका खोप १८ वर्षमाथिकालाई मात्र दिन मिल्ने खालका थिए ।
यस्ता व्यक्तिलाई राखिएको छ प्राथमिकतामा
फाइजरको खोप मुटुको बिरामी भई अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भएका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको पहिचान भई उपचारमा रहेका, फोक्सोको बिरामी भएर औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका दीर्घरोगीहरूलाई लगाउने तयारी छ ।
यो खोप दीर्घ रोग भएका तथा उपचार गराइरहेको पुर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप फाइजरको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन पनि आग्रह गरेको छ ।
यी हुन् देशभरमा खोप लगाइने २४ अस्पतालः
काठमाडौं उपत्यका
वीर अस्पताल
त्रिवि शिक्षण अस्पताल
निजामती सेवा अस्पताल
सहिद गंगालाल हृदय केन्द्र
भक्तपुर क्यान्सर अस्पताल
पाटन अस्पताल
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
वीरेन्द्र सैनिक अस्पताल
उपत्यका बाहिर
मेची अस्पताल
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
जनकपुर अस्पताल
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान
लुम्बिनी प्रादेशिक अस्पताल
भेरी अस्पताल
डडेल्धुरा अस्पताल
कोशी अस्पताल
गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान
नारायणी अस्पताल
धुलिखेल अस्पताल
धवलागिरी अस्पताल
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णाली प्रादेशिक अस्पताल
सेती अस्पताल
