काठमाडौं – आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक विषयमा बोल्न खोज्दा पार्टी केन्द्रीय सदस्य गगन थापालाई रोकेका छन् ।
बैठकमा नेता थापाले न्यायालयमा देखिएको विवादका विषयमा कुरा उठाएका थिए । पछिल्लो समय न्यायालयमा देखिएको समस्याबारे आफ्नो पार्टीले बोल्नुपर्छ भन्दा सभापति देउवाले उनलाई रोकेका हुन् ।
बैठकमा सहभागी भएका एक नेताले गगन थापाले समसामयिक विषयमा बोल्छु, न्यायालयको समस्या बारे पार्टीले बोल्नुपर्छ भन्ने बित्तिकै देउवाले रोकेको बताए । गगनलाई रोक्दै देउवाले अहिले समसामयिक विषय बोल्ने होइन भन्दै रोकेको उनले बताए ।
देउवाले रोक्न खोजे पनि गगनले देशलाई गम्भीर संकटतर्फ धकेल्न सक्ने न्यायालयको विवादमा पार्टी र सरकार मौन बस्न नहुने भन्दै कांग्रेसले यसबाट भाग्न नहुने बताए। उनले सर्वोच्च अदालतमा भएको विवादका विषयमा पार्टीले निर्णय गर्नुपर्ने पनि बताए ।
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले निरन्तर आन्दोलन गरिरहेका छन्। यस्तै न्यायाधीशहरूले पनि इजलास बहिष्कार गरिरहेका छन् । यसबारे विभिन्न दलका नेताहरु औपचारिक रूपमा बोलेका छैनन्।
