राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक प्रशासन २२ औं समूहको तालिम संचालन भएको छ ।
मंगलबारदेखि तालिम संचालन भएको हो । सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिम उद्घाटन गर्दै संगठनको उद्देश्य बमोजिम संचालित तालिममा प्रशिक्षार्थीहरुले ट्राफिक प्रहरीले गर्नुपर्ने व्यवसायिक कामको बारेमा आवश्यक ज्ञान हाँसिल गर्न उत्साहित, इच्छुक, लगनशील र अनुशासित हुनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले ३५ दिने कार्य अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ११ जना र प्रहरी सहायक निरीक्षक २९ जना गरी जम्मा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।
यस्तै, काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारस्थित सडकमा ३–०१–००५ ख ९३०० नम्बरको बसले ३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार दुइ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक ३५ वर्षीय राम बहादुर आचार्य र स्कुटरमा सवार ललितपुर ईमाडोल बस्ने ५२ वर्षीय यादव कुँवर रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उहाँहरुको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।
कीर्तिपुर नगरपालिका–४ भत्केपाटी डेरा गरी बस्ने भोजपुर घर भएकी ६४ वर्षीया मिना कार्की आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
