बढ्दो चिसोसँगै आज देशका अधिकांश भूभागमा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बिहान वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । राति प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । भोलि भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ ।
यति बेला देशभर नै चिसो बढेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्दो क्रममा रहेकाले देशभर नै चिसो बढेको मौसमविद्ले बताएका छन् । आज बिहान काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम ७.४ डिग्री मापन गरिएको छ । अधिकतम तापक्रम २२ डिग्री मापन गरिएको छ ।
जोमसोममा न्यूनतम तापक्रम ३.५ डिग्री मापन गरिएको छ । जुम्लामा माइनस ४.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । नेपालमा बढी गर्मी हुने नेपालगञ्जमा न्यूनतम तापक्रम १५ डिग्री र अधिकतम तापक्रम २६.६ डिग्री मापन गरिएको छ । पोखरामा न्यूनतम तापक्रम १२ डिग्री, विराटनगरमा १४.५ डिग्री, जनकपुरमा १५.२ डिग्री, भैरहवामा १५ डिग्री, वीरेन्द्रनगरमा ११.६ डिग्री मापन गरिएको छ ।
