संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता १८ प्रतिशतले कोरोना संक्रमण बढेको देखिएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार अघिल्लो हप्ताका तुलनामा यो हप्ता संक्रमितको संख्या १८ प्रतिशतले बढेको छ ।
त्यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) ले जनाएअनुसार अमेरिकामा हरेक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित हुने गरेका छन् । सो सेन्टरद्वारा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट अमेरिकाका ९२ हजार ८०० जना संक्रमित भएका छन् ।
उनीहरुका अनुसार त्यहाँ अहिले पनि दैनिक कम्तीमा ९० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे छ । अघिल्ला सात दिनभन्दा यो हप्ता यहाँ ९० हजारको हाराहारीमा संक्रमित भेटिएका छन् । सोमबार यसमा वृद्धि भएको हो । त्यसैगरी सो सेन्टरको तथ्यांकअनुसार हरेक दिन अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार प्रत्येक दिन कम्तीमा पनि ६ प्रतिशतका दरले अस्पताल भर्ना हुने नागरिकको संख्या बढिरहेको छ । पछिल्ला दिनहरुमा यसरी संक्रमित तथा मृत्यु हुनेको संख्या नै बढ्दै गएको देखिएको हो । अमेरिकामा कोभिडविरुद्धको खोप लगाउनेको संख्या भने धेरै छ । उक्त सेन्टरका अनुसार यो खोप नलगाउने व्यक्तिलाई लगाउनेलाई भन्दा संक्रमण सर्ने ६ गुणा बढी डर हुन्छ ।
त्यसैगरी खोप नलगाउने व्यक्तिको मृत्यु दर पनि लगाउनेको भन्दा कम्तीमा पनि १४ गुणा बढी हुने सम्भावना रहन्छ ।
