काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफुहरु नेकपा एमालेभन्दा कमजोर नभएको बताएका छन् । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा बोल्दै नेपालले सो कुरा गरेका हुन् । निर्वाचनपछि एमाले चोइटिएर जाने भन्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचारा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गरे ।
उनले भने – ‘एमालेभन्दा हामी कमजोर छैनौ, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्रो पार्टीका मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाको बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ । राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा खिमलाल देवकोटालाई जिताएका छौं’
उनले नेकपा एकीकृत समाजवादीको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताए । उनले भने ओलि छटपटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलौजमा उत्रेका छन्, तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौं ।’
एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्रो रहेको भन्दै उनले भने – ‘म आफैं मधेसमा जन्मेको हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौ ।’
