तरलता अभावका कारण बैंकहरु कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले आज रु. २० अर्बबराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिँदा राष्ट्रबैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्छ ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले मंसिर २३ गते परिपक्व हुने रिपो आज दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गछन् ।
यति बेला बैंक तथा वित्तीय संस्थाको सिडी रेसियो ९० प्रतिशतभन्दा माथि पुगेको छ । राष्ट्रबैंकले यो अनुपात ९० प्रतिशतभन्दा माथि हुन नहुने व्यवस्था गरेको छ । बजारमा तरलता अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर १०.५ प्रतिशतसम्म पुर्याएका छन् ।
