स्विडेनमा प्रधानमन्त्री बन्नु भएकी माग्डालेना अन्डेर्सनले नियुक्ति भएको केही घण्टामा नै राजिनामा दिनुभएको छ। उहाँले ट्वीटरमार्फत आफूले राजिनामा दिएको घोषणा गर्नुभएको हो ।
अन्डेर्सनले त्यहाँका राजासँग कुनै सल्लाह नै नगरी राजिनामा दिनुभएको सीएनएनले जनाएको छ । संसदमा सरकारले पेश गरेको बजेट फेल भएपछि प्रधानमन्त्रीको राजिनामा आएको हो ।
त्यहाँको सत्ता साझेदार दलमध्ये एउटा दलले बजेटको विपक्षमा मतदान गरेपछि बजेट फेल भएको थियो । स्विडेनमा गठबन्धन दल बाहिरिएपछि स्वत: प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने संवैधानिक प्रावधान छ ।
अन्डेर्सन स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्रीको रुपमा निर्वाचित हुनुभएको थियो । स्विडेनको संसदले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उहाँ स्विडेनको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो ।
निवर्तमान अर्थमन्त्री समेत रहनु भएकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुनुहुन्छ । संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका थिए ।
