एजेन्सी । ट्वीटर इंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भारतीय मूलका पराग अग्रवाल नियुक्त भएका छन् । ज्याक डोर्सीको बहिर्गमनपछि अग्रवाल सीईओ बनेका हुन् ।
ट्वीटरका प्रमुख प्रविधि अधिकारी रहेका अग्रवाल सीईओमा बढुवा भएका हुन् । सीईओ परिवर्तनको घोषणससँगै ट्वीटरको सेयर मूल्यमा सोमबार १.५ प्रतिशतले गिरावट आएको थियो ।
४५ बर्षका ज्याक डोर्सी सन् २०२२ सम्म ट्वीटरको बोर्ड सदस्यका रुपमा भने रहिरहनेछन् । उनले राजिनामा दिनुपर्नाको कारणबारे थप केही बताएका छैनन् ।
अग्रवालले सन् २०१७ देखि ट्वीटरमा प्रमुख प्रविधि अधिकारीका रुपमा काम गर्दै आएका थिए । तर उनी ट्वीटरसँग झण्डै एकदशकदेखि आवद्ध रहदै आएका छन् । उनले सन् २०११ मा बरिष्ठ इन्जिनियरका रुपमा ट्वीटरमा काम सुरु गरेका थिए ।
