काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले अब कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताएका छन् । कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थापाले बिहिबार आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै सो कुरा गरेका हुन् । उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको बताए ।
उनले भने – ‘हामीले जनआन्दोलनपछि ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ उनले थपे – ‘तर, अहिले अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’
कांग्रेसको सदस्य हुनु र चुनाव जित्नु भन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक पर्ने उनले बताए । उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको पनि बताए ।
कांग्रेसको महामन्त्री भनेको कुर्सीमा बस्नेमात्र होइन पार्टीको नीतिअनुसार काम गर्ने व्यक्ति रहेको उनको भनाई छ ।
