काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले शेरबहादुर देउवालाई विनाशर्त समर्थन गरेको बताएका छन् । कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार रहेर पहिलो चरणबाट बाहिरिएका सिंहले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कुरा गरेका हुन् ।
दोस्रो चरणको निर्वाचनमा आफूले देउवालाई समर्थन गरेको विषयमा निश्चित कुनै पदका लागि सम्झौता गरेको भन्ने ढंगका समाचारहरु आएको भन्दै त्यस्ता समाचारप्रति ध्यानाकर्षण भएको पनि उनले बताएका छन् ।
विज्ञप्तिमा उनले लेखेका छन् – ‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ’ उनले कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न सबै पत्रकार लगायतलाई अपिल पनि गरेका छन् ।
