चितवन : नारायणी नदीमा तटबन्धका लागि टेन्डर आह्वान भएको छ । उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयले आज (मंगलबार) नदीमा पहिलो खण्डको तटबन्धका लागि टेन्डर आह्वान गरेको हो ।
नारायणी नदीको दिर्घकालीन समाधानका लागि तटबन्धको डिपिआर अनुसार चार अर्ब ७२ करोड बजेटमा बहुवर्षीय ठेक्का अन्तर्गत २५ किलोमिटर मध्ये भरतपुर महानगरपालिका २६-२७ सम्मको पहिलो खण्डका लागि आज टेन्डर आह्वान भएको मेयर रेनु दाहालले जानकारी दिईन् ।
फाल्गुन १३ गते भित्र मन्त्रालयमा बोलपत्र बुझाउन सूचनामा भनिएको छ । बोलपत्रमा सम्झौता अवधि २४ महिना तथा जमानत रकम एक करोड ८९ लाख ३२ हजार तोकिएको छ ।
भरतपुर महानगरको पहलमा संघीय सरकारको उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयले टेन्डर आह्वान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले जानकारी दिए । भरतपुर २६ र २७ को शिसही, भगेडी र बलुवा क्षेत्रको लागि पहिलो खण्डमा टेन्डर आह्वान भएको हो ।
नारायणी नदीको पुलदेखि गोलाघाटसम्मलाई चार खण्डमा बिभाजन गरि छुट्टा छुट्टै चार वटा टेन्डर आह्वान हुने सुवेदीले बताए । उनका अनुसार अन्य खण्डको टेन्डर पनि यही वर्ष भित्र आह्वान हुनेछ ।
