काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमित हुँदा पनि सार्वजनिक कार्यक्रममा गएको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि टिप्पणी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत शर्माले ओलीप्रति इंगित गर्दै गैरजिम्मेवारीको पराकाष्ठा नाघेको बताएका छन् । ओली कोरोना संक्रमित भएको चौथो दिन बिहिबार नै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए ।
सोही कुरालाई लिए नेता शर्माले यस्तो गर्नु बहादुरी नभई गैह्र जिम्मेवारीको पराकाष्ठा भएको बताएका हुन् । उनले यस्तो गर्नु कानुनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत भएको उनको भनाई छ । शर्माले आफूले संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर सांगठनिक काममा फर्केको पनि बताएका छन् ।
उनले लेखेका छन् – ‘संक्रमण पुस्टिपछि `आइसोलेसन´मा बस्नु हामी हरेकको जिम्मेवारी हो l पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानुनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो !’
‘यहि `ज्ञान´ र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु l सबैको शुभेच्छाप्रति आभार ! जय नेपाल !‘
