काठमाडौं – नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुबीचको भेटवार्ता बिना निष्कर्ष सकिएको छ । शनिवार बालकोटमा बसेको कांग्रेस र एमालेका नेताहरुबीचको छलफलमा एमसीसी बारे ठोस निर्णय आउन सकेन ।
उक्त भेटवर्तामा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायत र एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतको सहभागी रहेको थियो । उक्त छलफलमा दुवै दलका नेताहरुको आफ्नै अडानका कारण निष्कर्ष निस्कन सकेन ।
भेटपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने – ‘हामीले प्रतिनिधिसभा सुचारु गरौँ। एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गरौँ भनेका छौँ । तर, उहाँहरुले प्रतिनिधिसभाको ढोका खुलेको छैन। हामीले प्रतिनिधिसभा खुलाउने बाटो खोल्नुहोस् भन्नुभएको छ। हामीले फेरि पनि संसदलाई जीवन्त बनाउने तपाईंहरुको दायित्व हो भनेर भनेका छौँ।’
गठबन्धन दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एमसीसी बारेमा सहमती हुन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मनाउन लागि परेका छन् ।
शुक्रबार ओलीसँगको भेटमा कुनै निष्कर्ष ननिस्कएपछि शनिवार पनि दुई दलका नेताहरु छलफलमा जुटेका थिए । यसअघि बालुवाटार, संसद भवनमा कांग्रेस र एमालेबीच सहकार्यका लागि भएका वार्ता निष्कर्षमा पुग्न सकेका थिएनन् ।
