काठमाडौं । समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ । ‘लगातार २४ घण्टा बसेको बैठकमा सहमति जुट्यो, सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइन्छ,’ नेपाली कांग्रेसका एक पदाधिकारीले भने ।
सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने सार्वजनिक हुन बाँकी छ । एक उच्च तहका नेताका अनुसार संशोधन गरिएको सूची सभापति देउवाले भनेजस्तै पनि नभएको र नेता शेखर कोइराला समूहले भने जस्तो पनि नभएको बताए । निर्वाचन आयोगमा यसअघि बुझाइएको समानुपातिकको बन्दसूची सच्याउन आज साँझ ५ बजेसम्मको समय तोकिएको छ । सूची संशोधनको क्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम यसअघिको क्रमसंख्याभन्दा तल सारिएको एक नेताले बताए ।
