चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले आफू निर्वाचित भएमा योजना बनाएर विकास निर्माणका काम गर्ने बताएका छन् ।
भरतपुर महानगरपालिका का विभिन्न वडाका मतदाताहरुसंँग भेटघाट गर्ने क्रममा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले भने, ‘म जीवनभर शिक्षामा काम गरेको मान्छे हुँ । म गाउँको मान्छे हुँ । म दुख गरेको मान्छे हुँ। युवाहरुलाई गरिखाने बनाउनु पर्छ भन्ने अभियानको म अभियन्ता हुँ ।’ चितवनका मतदाताहरुलाई उनले भने, ‘यो क्षेत्रमा मैले चुनाव जितेर काम गर्ने अवसर पाएँ भने योजना बनाएर अगाडि बढ्नेछु’ ।
श्रेष्ठले भने, ‘म सिस्टममा काम गर्ने मान्छे हो, म काम नै गरेर यहाँ सम्म आएको हो। म आफै समाजका लागि एउटा प्रेरणाको श्रोत, हो युवाहरुले मा बाट धेरै कुरा सिक्न सक्छौ ।’ चुनावी अभियानका क्रममा आफू इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको विभिन्न क्षेत्रमा पुगेको जानकारी गराउँदै श्रेष्ठले भने, ‘यो क्षेत्रमा आएर मैले केही काम गर्न सक्ने सम्भावना देखेको छु । मेरो लागि होइन, राष्ट्र र समाजका लागि काम गर्नेछु ।‘
नेपाल विकासका हरेक सम्भावना नै सम्भावना बोकेको देश भएर पनि गरिब हुनुको कारण नीति कमजोर भएको उनको भनाइ थियो । उनले भने, ‘सम्भावना नै सम्भावना बोकेको देश भएर पनि हामी गरिब भयौँ नीति कमजोर भएको कारण । शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय, प्राकृतिक स्रोतसाधन, ऊर्जा र जडीबुटीको क्षेत्रमा धेरै काम गर्न सकिन्छ ।’
त्रिशूली, नारायणी र राप्ती नदीको उपयोग गरेर पर्यटनको विकास गरी विदेशी मुद्रा आर्जन गर्न सकिने । ‘राम्रोसँग उपयोग गर्ने हो भने नदी वरदान हो । म नदीलाई उपयोग गरेर पर्यटनको विकास गर्नु पर्छ भन्छु ।’
