खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायिक विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षले शैक्षिक गुणस्तर वृद्धिका लागि लिखित प्रतिबद्धता जनाएका छन् । खस्किँदो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयमा कार्यरत प्रअले १७ बुँदे र व्यवस्थापन समितिका अध्यक्षले १५ बुँदे प्रतिबद्धता जनाएका हुन् । नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रअ र व्यवस्थापन समितिका अध्यक्षका लागि असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन गरेको विद्यालय शिक्षा सुधार सम्बन्धी अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा मंगलबार शैक्षिक सुधार गर्ने प्रतिबद्धता जनाइएको हो ।
मेयर तीर्थराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल र सामाजिक विकास समितिका अध्यक्ष दानबहादुर राईको समेत हस्ताक्षर रहेको प्रतिबद्धता पत्रमा सामुदायिक विद्यालयका प्रअले वार्षिक कार्ययोजना र शैक्षणिक योजनाको निर्माण र कार्यान्वयन गर्ने, नगर शिक्षा नियमावली २०७६ को नियम ५४ मा तोकिएका प्रअको काम, कर्तव्य र अधिकारको कार्यान्वयनमा सक्रियता जनाउने, ठिक १० बजेदेखि ४ बजेसम्म दैनिक विद्यालय सञ्चालन र तोकिएको समयसीमाभित्र नियमित पठन–पाठन गर्ने प्रतिबद्धता जनाएका छन् ।
शिक्षक र विद्यार्थीको नियमित उपस्थितिका लागि सहजीकरण गर्ने, विद्यालयमा नियमित पठन–पाठनको व्यवस्था गर्ने, अतिरिक्त र सहकार्यकलाप सञ्चालनमा सहजीकरण गर्ने, विव्यसका पदाधिकारीले आलोपालो गरी विद्यालयमा नियमित उपस्थिति जनाउने भनिएको छ ।
यस्तै, विव्यस अध्यक्षले विद्यालयका कार्यकलापमा अभिभावकको सक्रियतामा वृद्धि गर्ने, फूलबारी र करेसाबारी निर्माणमा विद्यालयलाई सहयोग गर्ने, विद्यालय परिसर र कक्षा कोठाको सरसफाइ गर्ने, विद्यार्थी, शिक्षक र अभिभावकको प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
