फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विअरन अनुसार संस्थाको अधिकांश सूचकमा गिरावट आएको छ। संस्थाले ३ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ६३.८० प्रतिशतले कम हो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको गिरावटले खुद नाफामा गिरावट आएको देखिन्छ। कम्पनीको खूद ब्याज आम्दानी २० करोड ६६ लाख रुपैयाँ रहेको छ। गत वर्षको यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी २७ करोड २५ लाख रहेको थियो।
यता, सञ्चालन मुनाफा ऋणात्मक बनेको छ । गत वर्षको यही अवधिसम्ममा १३ करोड १८ लाख सञ्चालन नाफा गरेको संस्थाले समीक्षा अवधिमा भने ४ करोड ८५ लाख सञ्चालन घाटामा रहेको छ।
यो पहिलो त्रैमाससम्ममा कम्पनीले ८ अर्ब २१ करोड निक्षेप संकलन गरी तथा १० अर्ब बढी सापटी लिई १९ अर्ब ८७ करोड बढी कर्जा प्रवाह गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड ४५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ।
समिक्षा अवधिमा कम्पनीको निस्क्रिय कर्जाको अनुपात ३.७२ प्रतिशतबाट घटेर २.६० प्रतिशतमा सीमित भएको छ। कम्पनीको कस्ट अफ फण्ड ९.०७ प्रतिशत बढेर ११.३६ प्रतिशत पुगेको छ।
कम्पनीको प्रति सेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ३२४.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७८.४७ गुणा कायम ररहेको विवरणमा उल्लेख छ।
