डिसेम्बर ९ मा अरुणाचल प्रदेशमा चीनसँगको वास्तविक नियन्त्रण रेखामा चीन र भारतका सैनिकहरूबीच झडप भएको थियो । भारतका रक्षामन्त्री राजनाथ सिंहले चिनियाँ सेनाले अरुणाचल प्रदेशको तवाङको याङ्त्सेमा अतिक्रमण गरेर यथास्थितिलाई एकतर्फी रूपमा परिवर्तन गर्ने प्रयास गरेको बताएका छन्।
राजनाथ सिंहले भने, ‘हाम्रो सेनाले दृढताका साथ चीनको यो प्रयासको सामना गर्यो । यो भिडन्तमा झडप भयो । भारतीय सेनाले बहादुरीका साथ चिनियाँ सैनिकहरूलाई हाम्रो भूमिमा अतिक्रमण गर्नबाट रोक्यो र उनीहरूलाई आफ्नो पोस्टमा फर्कन बाध्य तुल्यायो। यो झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन् ।’
अहिले चीनबाट पनि प्रतिक्रिया आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अहिले स्थिति नियन्त्रणमा रहेको बताएका छन् । चीनको परराष्ट्र मन्त्रालयले दुई देशबीचको सीमा सम्बन्धमा भएका सम्झौता पालना गर्न भारतलाई आग्रह गरेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयको दैनिक पत्रकार सम्मेलनमा वाङले दुई देशबीच वार्ता भइरहेको बताए। चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ सेनाका प्रवक्ताले पीएलएको वेस्टर्न थियेटर कमाण्डले वास्तविक नियन्त्रण रेखामा रहेको चिनियाँ क्षेत्रमा नियमित गस्ती गरिरहेको बेला भारतीय सेनाले चीनको पक्षमा प्रवेश गरी चिनियाँ सेनालाई रोक्न खोजेको बताएको छ।
