नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएकै भोलिपल्ट चीनले बन्द प्राय भएको रसुवागढी नाका खोलिदिएको छ। आयातमा सामान्य गतिमा मात्र खुल्ने गरेको नाका निर्यातमा विगत ३ बर्षदेखि ठप्प थियो।
सोमबार साँझ ४ बजे प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिएकै भोलिपल्ट विहानदेखि सो नाकाबाट निर्यात पनि खोलिएको थियो।
उत्तरको छिमेकीले नाका खोलेर प्रचण्ड नेतृत्वको बहुसंख्यक कम्युनिष्टहरुको सरकारलाई स्वागत गरेको सन्देश पनि दिएको छ।
कोभिड महामारीका कारण भन्दै नेपालमा राजनीतिक अस्थिरता चर्केपछि ३ बर्षअघि चीनले नेपालसँगका नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो। अहिले फेरि चीनमा कोरोना महामारीको भयावहस्थित आएको छ। यस्तो अवस्थामा पनि चीनले नाका खोलिदिनुले नयाँ सरकारलाई चीनको समर्थनको स्पष्ट संकेत हो।
प्रधानमन्त्री हुनुभन्दा केही दिनअघि मात्र चीनसँगका नाका सुचारु गरिनुपर्ने मागसहित केही व्यापारिक समूहले प्रचण्डलाई भेटेको पनि थियो। सो भेटमा उनले आफूले तातापानी नाकासमेत खोल्न चीनलाई आग्रह गरेको र फेरि कुटनीतिक प्रयास गर्ने बचन पनि दिएका थिए।
रसुवागढीको नाका खोले पनि तातोपानी नाका भने अझै खुल्न सकेको छैन। यसैबीचमा हिजो बुधबार चीनबाट केरुंग काठमाडौं रेल संचालनको सम्भाव्यता अध्ययनका लागि पनि एउटा टोली काठमाडौं आइपुगेको छ। नेपालका रेलको सपना एमाले अध्यक्ष ओलीले देखाएका थिए।
कोभिड महामारीकै बीचमा पनि माओवादी केन्द्रका नेता बर्षामान पुन अनन्तलाई उपाचार गरिदिन आफ्नै खर्चमा चीन नै बोलाएकोमा उनी फर्केर आएकै दिन अर्थात् एकहप्ताअघि मंगलबार संयोगले नेपाली सेना र चिनियाँ सेनाको सहकार्यबारेको रोकिएको कार्य खुलेको थियो।
उनी आएकै दिन नेपाली सेनाका तर्फबाट चीनको सेनासँगको संयुक्त सैन्य अभ्यास पुन शुरु गर्नेसम्बन्धी धारणा सार्वजानिक गरिएको थियो। मिति तय नभए पनि नेपाली सेना र चीनको जनमुक्ति सेनाका बीच विगत केहीबर्षदेखि रोकिएको संयुक्त सैन्य अभ्यास अव हुने भएको छ।
उनै पनि चीनबाट फर्केपछि गठबन्धनमा थप गढबढी बढेको र एमालेका उपाध्यक्ष विष्णु पौडेलसँगको बार्ताले तीब्रता पाएको थियो। प्रचण्ड नेतृत्वमा एमालेसहितको सरकार बन्नुमा चीनको प्रयासले ठूलो काम गरेको भन्दै भारतीय मिडियाहरुले अहिले चर्को आलोचना गरिरहेका छन्।
