दिवंगत बलिउड अभिनेत्री श्रीदेवी स्टारर फिल्म ‘इंग्लिस विंग्लिस’ रिलिज हुनासाथ दर्शकको प्रिय बनेको थियो। दर्शकले श्रीदेवीको भूमिकालाई निकै मन पराएका थिए।
अब यो फिल्म श्रीदेवीको सम्मानमा उनको पाँचौं वार्षिकीमा २४ फेब्रुअरीमा पुनः रिलिज हुँदैछ। गौरी शिन्देको निर्देशनमा बनेको यो फिल्म सन् २०१२ मा टोरन्टो फिल्म फेस्टिभलबाट वल्र्ड प्रिमियर गरिएको थियो।
रोचक कुरा के छ भने श्रीदेवी १५ वर्षपछि चिनियाँ थिएटरमा देखिँदैछिन्। इरोज इन्टरनेसनलका सिइओ कुमारले चीनका ६ हजार थिएटरमा फिल्म रिलिज हुने जानकारी दिएका छन्।
निर्देशक गौरीले फिल्मलाई उनकी आमाको जीवनबाट प्रभावित भएर बनाएकी हुन्। फिल्ममा श्रीदेवी एक गृहिणीको भूमिकामा छन्। जो अमेरिकामा अंग्रेजी सिक्छिन् र नयाँ साथी बनाउँछिन्। फिल्ममा आदिल हुसेन, सुमित व्यास, प्रिय आनन्दलगायतको अभिनय छ।
