देवीनगरमा बृहत् साँस्कृतिक कार्यक्रम हुने
निराज रानाभाट, भरतपुर, चितवन : फागु पूर्णिमा ( होली ) को अवसरमा चितवनको भरतपुर महानगरपालिका -१६, देवी चोकमा होली विशेष ‘ बृहत साँस्कृतिक कार्यक्रम तथा एकल नृत्य प्रतियोगिता ’ हुने भएको छ । श्री दुर्गा लक्ष्मी टोल विकास संस्थाले अन्तर टोल स्तरीय नृत्य प्रतियोगिताको तयारी गरिएको कार्यक्रम संयोजक अन्जन दवाडीले जानकारी दिए । एक आपसमा रंग आदानप्रदान गर्दै फागु पुर्णिमाको शुभ – कामना आदानप्रदान गर्ने र सामाजिक सद्भावलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको दवाडीले बताए ।
साँस्कृतिक कार्यक्रमको माध्यमबाट समेत स्थानीय व्यापार व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने हुँदा होलीको सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको दवाडीले प्रष्ट पारे । सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ । होलीलाई विशेष बनाउनका लागि स्थानीय जातजातीका साँस्कृतिक कार्यक्रमलाई पनि समावेश गर्ने दवाडीले बताए। प्रतियोगिता फागुन २२ गते, बिहान १०:०० बजेदेखि साँझ ०४:०० बजेसम्म हुने छ ।
