पूर्व गृहमन्त्री गोविन्दराज जोशीले चुनाव अघि कांग्रेससँग कुनै संभावन नगर्ने बताएका छन्। कांग्रेसले चुनावलाई लक्षित गरेर आफूमाथिको कारवाही फुकुवा गर्ने प्रपञ्च गरेको भन्दै जोशीले कांग्रेससँगको वार्ता समाप्त भएको बताएका हुन्।
जोशीले कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न भएको र आफूमाथिको कारवाही फिर्ता भयो भनेर झुटो प्रचार गरेको आरोप लगाए।
‘कांग्रेससँगको वार्ता समाप्त भयो,’ तनहुँमा स्वतन्त्र राजनीतिक गतिविधि गर्दै आएका जोशीले डिसी नेपालसँग भने, ‘उहाँहरुले कारवाही फुकुवा भयो भनेर झुटो प्रचार गर्नु भयो। मलाइ केन्द्रीय सदस्य बनाउने प्रस्ताव गर्नु भएको थियो। म कांग्रेस मै नरहेपछि केन्द्रीय सदस्यको के अर्थ रह्यो?’
उनले तनहुँमा आफ्नो अधिकारिक कुनै उम्मेदवार नभएको उल्लेख गर्दै आफ्ना समर्थक योग्य उम्मेदवारलाई भोट हाल्न स्वतन्त्र रहेको बताए। ‘यहाँ हाम्रो आधिकारिक उम्मेदवार छैन। मेरा समर्थकले जसलाई मत दिनुहुन्छ, म पनि त्यही उम्मेदवारको पक्षमा हुन्छ।’
तनहुँ-१ वैशाख दशमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट गोविन्द्र भट्टराई उम्मेदवार छन्। केही दिन अघि कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार छन्।
डा. वाग्ले रास्वपाबाट उम्मेदवार बनेपछि कांग्रेसले जोशी माथि गरेको कारवाही फुकुवा गरेको थियो। जोशीका छोरा दीपकराज जोशीसँग सभापति शेरबहादुर देउवाले वार्तासमेत गरेको थिए। सो वार्तामा देउवाले गाेविन्दराजलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका थिए।
जोशीले आफू कांग्रेस नै नरहेकाले केन्द्रीय सदस्यको कुनै अर्थ नहुने बताए। उनले चुनावअघिसम्म आफू अब घरमै बस्ने र कुनै उम्मेदवारको पक्षमा पनि नखुल्ने बताए।
