
रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएपछि पहिलो कार्यकालमा पूरा नभएका सपना पूरा गर्न अहोरात्र खटिएको बताएका छन् । उनी भन्छन्, ‘मलाई सबै जनप्रतिनिधि साथीहरुले पूर्णरुपमा साथ सहयोग गर्नुभएको छ ।’

पूर्वाधारमा पिच सडक, अधूरा भवन निर्माण, शिक्षा, स्वास्थ्य, खेलकुद, कबर्डहलको काम, विद्यालयमा बस खरिद, तटबन्धको कार्य तीव्ररुपमा भैरहेको उनको भनाइ छ । भनी भन्छन्, ‘नमुना पार्क बन्दैछ । कृषिमा डेरीमा आधुनिकीकरण हुँदैछ । विपन्न वर्गलाई बाख्रा वितरण गरी खोर प्रदान गरेका छौँ । वडाभरि हरियाली वातावरण छाएको छ । वडाभित्र १२ वटा बालक्लब गठन, लक्षित वर्गलाई सीपसहित प्रविधि हस्तान्तरणजस्ता थुप्रै काम भएका छन् ।’
‘मैले अमूल्य मतको सदुपयोग गर्दै जनताको मुहारमा मुस्कान ल्याउने काममा तल्लीन भएको छु’, उनले भने, ‘अब बाँकी काम आगामी चारवर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

