“स्वार्थ भन्दामाथि सेवा” भन्ने उद्देश्यले स्थापित रोटरी क्लब अफ कावासोती र रोटर्याक्ट क्लब अफ कावासोतीको संयुक्त आयोजनामा देवचुली २ स्थित दिव्य युवा समाजको भवन परिसरमा निःशुल्क मोतिबिन्दु परीक्षण शिविर सम्पन्न भएको छ ।
दिव्य युवा समाजको स्थानीय सहयोग रहेको कार्यक्रममा प्राविधिक सहयोग कावासोती स्थित मध्यबिन्दु आँखा उपचार केन्द्रको रहेको थियो । रोटरी क्लब अफ कावासोतीका अध्यक्ष हरिहर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवचुली नगरपालिका वडा नं २ का अध्यक्ष शरद प्रसाद घिमिरे प्रमूख अतिथिको रूपमा रहनु भएको थियो भने विशिष्ट अतिथिको रूपमा रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोखरेल, रोटर्याक्ट क्लब अफ कावासोतीका अध्यक्ष शेष नारायण पौडेल, लगायत अन्य सामाजिक प्रतिष्ठीत व्यक्तिहरू रहनु भएको थियो । दिव्य युवा समाजका अध्यक्ष यमनाथ बस्ताकोटीले सञ्चालन गर्नु भएको कार्यक्रममा मध्यबिन्दु आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदीप भट्टराई लगायत उहाँको टिमले बिरामीको जाँच गर्नु भएको थियो ।
उक्त शिविरमा २१९ जनाले निःशुल्क रूपमा आँखाको जाँच गरी औषधि प्रदान गरिएकोमा त्यसबाट ४२ जनामा मोतिबिन्दु देखिएको हुँदा उहाँहरुको निःशुल्क शल्यक्रियाको लागि रोटरीको वार्षिक कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको सहयोगमा आउँदो मंसिर ११,१२ र १३ गते कावासोतीमा हुने जानकारी रोटर्याक्ट क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष परमानन्द गौतमले बताउनु भयो । कार्यक्रममा रोटरी क्लब तथा रोटर्याक्ट क्लबका अन्य पदाधिकारीहरुको उलेख्य उपस्थिती रहेको थियो ।
रोटरी क्लबले गरेको यस्तो मानवीय कार्यको प्रमूख अतिथि लगायत अन्य अथितिले प्रसंसा गर्नु भएको थियो । रोटरी क्लबका अध्यक्ष अधिकारीले विगत केही वर्ष देखि निरन्तर रुपमा समाज सेवामा सकृय भूमिका निर्वाह गर्दै आइरहेको नै छ, त्यस अन्तर्गतको यश निःशुल्क मोतिबिन्दु परीक्षण गरी नवलपुर जिल्लालाई मोतिबिन्दु रहित जिल्ला बनाउन लागि परिरहेको हुँदा यहाँको सम्पूर्ण स्थानीय तथा सरोकारवालाहरुको पनि भूमिका अग्रणी हुनु पर्ने र सहकार्यको लागि हामी सधैं तयार रहेको बताउनुभयो ।
