प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताउनुभएको छ ।
आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले आफूलाई नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थाहा नभएको उल्लेख गर्दै त्यसलाई तत्काल फिर्ता लिन निर्देशन दिनुपरेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले अटोप्राईसमा जाने निगमको निर्णय जनताको पीरमर्का, भावना र आवश्यकता विपरीत रहेकाले आफूले सो निर्णयलाई फिर्ता गरएको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले नेपाल आयल निगम स्वतन्त्र निकाय नभएकाले उसले सरकारको निर्देशन अनुसार काम गर्ने पनि बताउनु भयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘आजै बसेको मन्त्रीपरिषद बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश श्री डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री सहकुलबहादुर थापा, पूर्व सहसचिव श्री किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ ।’’
बैठकमा प्रधानमन्त्री दाहालले सुन तस्करीबारे छानबिन गर्न चार सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिएको पनि बताउनु भयो । केहीबेर अघि बसेको मन्त्रीपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्वप्रहरीअतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो । गोरखापत्र अनलाइनबाट
