रत्ननगर । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगर नगरपालिका वडा नं–१४ स्थित गैरीबारीमा एकल महिला कान्छीमाया परियारको घर बनाउने अभियानअन्तर्गत आइतबार एक कार्यक्रमबीच शिलान्यास गरेका छन्
घरविहीन नागरिकलाई घर बनाउने र भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने योजनाअनुरुप वडा नं–१४ की एकल महिला कान्छीमायाको घर बनाउने अभियान थालनी गरिएको हो ।
नगरलाई समृद्ध बनाउन र समाज रुपान्तरणका लागि भूमिहीन र सुकुमबासीको व्यवस्थापन गर्नुपर्ने बताउँदै नगरप्रमुख सापकोटाले निर्वाचनमा गरेको वाचा ढिलै भए पनि कार्यान्वयन गर्न सुरूवात गरेको बताए ।

कान्छीमायाको १५÷१५ को एककोठे घर बनाउन लाग्ने सामग्री नगर विपद् व्यवस्थापन समितिले र घर बनाउन लाग्ने सम्पूर्ण ज्याला आफू स्वयंले व्यहोर्ने नगरप्रमुख सापकोटाको भनाइ छ ।
‘सुरूवाती चरणमा कान्छीमायाको घर बनाउने छौँ’, उनले भने, ‘प्राथमिकताका आधारमा यस अभियान अगाडि बढाउने छौँ ।’ उनले सम्पूर्ण समाजसेवी र अभियन्ताहरुलाई यस अभियानमा जोडिन आह्वान् गर्दै सहयोग गर्न चाहने मनकारी महानुभावले नगदभन्दा पनि घरमा आवश्यक पर्ने फर्निचरका सामग्री तथा अन्य सामान हस्तान्तरण गर्न उनले अनुरोध गरे ।

कुनै पनि नागरिक घरविहीन हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले छुट्टै कार्यक्रम ल्याउन लागेको र भूमिहीन सुकुमबासीलाई लालपुर्जा पनि छिट्टै वितरण हुने उनले बताए ।
‘हरेक नगरवासीसँग नगरपालिका सँगसँगै छ’, उनले भने, ‘स्वास्थ्य र शिक्षामा कोही वञ्चित हुनु पर्दैन । विपन्नताकै कारण कोही भोकै बस्नु पर्दैन । कोही पनि घरविहीन हुनुपर्दैन ।’ नगरपालिकाप्रति नगरवासीको अपेक्षा धेरै रहेको बताउँदै सर्वप्रथम अतिविपन्नलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपाने, नगरकार्यपालिका सदस्य देवेन्द्र भुजेल, वडा नं–१४ का जनप्रतिनिधि धीरेन्द्र घिमिरे, नेपाली कांग्रेस नगर सदस्य हरिशचन्द्र अधिकारी, वडा नं–१४ का पूर्ववडाध्यक्ष हरिकुमार श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निराजन खनाल, समाजसेवी केदार अधिकारी, सिटिइभिटीका सुमन कट्टेल, दक्षिणकाली टोल विकास संस्थाका अध्यक्ष विनोद तामाङ, मिलिजुली टोल विकास संस्थाका अध्यक्ष सोम लामा, अभियान टोल विकास संस्थाका अध्यक्ष टेकबहादुर क्षेत्रीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा नं–१ का वडाध्यक्ष एवं नगरप्रवक्ता कुलप्रसाद सापकोटाले सञ्चालन गरेका थिए ।


