दुर्गाको दोस्रो रूप हो ब्रह्मचारिणी । ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने खालकी, अर्थात् तपको आचरण गर्ने खालकी । कठिन तपस्याका कारण उनलाई तपश्चारिणी अर्थात् ब्रह्मचारिणी नामले चिनियो । त्यसैले यिनको उपासना गर्नाले तप, त्याग, वैराग्य, सदाचार र संयममा वृद्धि हुन्छ।
पूर्वजन्ममा यिनले हिमालयको घरमा पुत्रीका रूपमा जन्म लिइन् र नारदको उपदेश सुनेर भगवान् शङ्करलाई पतिरूपमा पाउनका लागि घोर तपस्या गरिन् । एक हजार वर्षसम्म यिनले केवल फलफूल खाएर बिताइन् । सय वर्षसम्म केवल जमिनमा रही सागपात खाएर बिताइन् । केही दिनसम्म कठिन उपबास बसिन् र खुला आकाशमुनि वर्षा र घामको पीडा सहिन् । फेरि तीन हजार वर्षसम्म खसेका बेलपत्र खाएर शिवको आराधना गर्दै रहिन् । पछि उनले त्यो पनि खान छाडिन् र कैयौँ हजार वर्षसम्म निर्जल र निराहार रहेर तपस्या गर्दै रहिन् । पातहरू खान छाडेका कारण यिनको नाम अपर्णा रहन गयो।
यसरी कठिन तपस्या गरेपछि यिनको शरीर एकदमै क्षीण बन्यो । देवता, ऋषि, सिद्धगण, मुनि आदि सबैले यिनको तपस्यालाई अभूतपूर्वक पुण्यको काम भएको बताए र सराहना गरे । उनीहरूका अनुसार आजसम्म त्यति कठिन तपस्या कसैले पनि गरेको थिएन । उनीहरूले उनको मनोकामना पूरा हुने र शिव पतिरूपमा प्राप्त हुने आशीर्वाद दिए । अब तपस्या छाडेर घर जान सल्लाह पनि दिए । उनको कथाबाट जीवनका कठिन संघर्षहरूमा पनि मनलाई विचलित गर्नुहुँदैन भनेर सिक्न सकिन्छ।
