नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच अविश्वासको अन्त्य भएको बताउनुभएको छ ।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका श्रेष्ठले प्रचण्ड र भट्टराईको बीचमा अविश्वासको अन्त्य भएकाले छिट्टै दुई पार्टीको एकता हुने बताउनुभएको हो ।
उहाँले दुई नेताका बीचमा कुनैपनि प्रकारको असमझदारी नभएको बताउनुभयो । उहाँले क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न नभइ एकतावद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकता भएको उल्लेख गर्नुहुँदै सो वस्तुगत आवश्यकताको बोध दुवै शीर्ष नेताहरुमा भएको बताउनु भयो । अध्यक्षद्वय प्रचण्ड र भट्टराई एकतावद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्व नहुने जानकारी उहाँले दिनुभयो । सहअध्यक्ष श्रेष्ठले एकता प्रक्रिया कुनैपनि बाहानामा पछाडी नफर्किने बताउनु भयो ।
‘‘वार्ता समितिले वार्ता गरेर एउटा वातावरण बनायो । त्यही वातावरणको जगमा दुईवटै पार्टीमा पार्टी एकता/ध्रुवीकरणको निम्ति पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाउने हाम्रो वार्ता समितिले दिएको सुझाव अनुसार नेपाल समाजवादी पार्टीले समिति बनाएको छ । प्रक्रिया यहीँ नै हो । यसलाई असमझदारी पनि नभनौँ । यसमा सञ्चारको अभाव भएको देखियो । त्यो सञ्चारको अभावलाई पूरा गर्ने काम हामीले गरिराखेका छौँ ।,’’ सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘ उहाँहरुको बीचमा तारन्तार छलफलहरु भइराखेका छन् । जो सँग विचार, राजनीतिक एजेण्डाहरु मिल्छ, सबैकुरा मिल्छ उनीहरुको बीचमा पार्टी एकता नै गरेर जाने । त्यसको निम्ति नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीचमा पार्टी एकताकै प्रक्रिया अगाडि बढ्छ ।’’
‘‘माओवादी केन्द्रसँगको पार्टी एकता माओवादी केन्द्र पनि रुपान्तरित हुने र नेपाल समाजवादी पार्टी पनि रुपान्तरित हुने नयाँ आधारमा, नयाँ एकता, नयाँ परिवेशमा नयाँ सोच र चेतनासहितको एकता आजको आवश्यकता हो । त्यो आवश्यकता दुई वटै पार्टी र दुई वटै पार्टीका शीर्ष नेताहरुले बोध गरिसकेको हुनाले यो प्रक्रिया अगाडि बढेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘प्रचण्ड र बाबुरामबीचको अविश्वास दूर भएको छ । यो त भोलि समयले पनि बताउँदै जाला । मुख्यगरी प्रचण्ड या बाबुराम, उहाँहरुले देशको आवश्यकतालाई, अहिलेको वस्तुगत आवश्यकतालाई जुन ढङ्गबाट बोध गरिराख्नु भएको छ, अब अलग–अलग बसेर होइन, एकतावद्ध भएर जानुपर्छ जुन निष्कर्षमा पुग्नु भएको छ, र सिङ्गो दुईवटा पार्टी पङ्क्ति नै जुन निष्कर्षमा पुगेको छ, त्यसले एकतालाई चाँडै नै मुर्त रुप दिन्छ । यो प्रक्रिया पछाडी फर्किंदैन । अगाडी बढ्छ ।’’
सहअध्यक्ष श्रेष्ठले प्रतिगामी शक्तिहरु एकतावद्ध हुँदै गइरहेको भन्दै सो कुरा अग्रगामी शक्तिहरुले चिन्ता गर्नुपर्ने विषय भएको बताउनु भयो । प्रतिगामी शक्तिहरु एक हुनासाथ सङ्घीयता, गणतन्त्र र सङ्घीयता खारेज नहुने उहाँको भनाइ छ । नेपालबाट अब सङ्घीयता र गणतन्त्रलाई अब कसैले हटाउन नसक्ने उहाँ बताउनुहुन्छ ।
सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेसपामात्रै नभई विगतमा जनयुद्ध, जनआन्दोलनमा सहभागि सबै शक्तिहरु पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
