उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्य प्रणालीभन्दा उन्नत रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री खड्का यो शासन प्रणालीको विकल्प नरहेको जानकारी दिनुभयो ।
उहाँले वर्तमान शासन प्रणालीलाई अघि बढाउँदा जिम्मेवारीमा बसेकाहरुले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘‘हजारौं नागरिकको बलिदान र लामो समयको राजनीतिक संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा संसारभरको प्रयोगबाट देखिएको छ, यो शासन प्रणालीमा मुलुकको उन्नति, प्रगति गर्ने क्षमता अन्य प्रणाली भन्दा उन्नत छ । यो प्रणालीमा आम जनताको, आम नागरिकको सरकार सञ्चालनका सबै तहमा समावेशी प्रतिनिधित्व, प्रत्यक्ष प्रतिनिधित्व र सबै खालका जनसङ्ख्याको सबै तहमा प्रत्यक्ष प्रतिनिधित्वसहितको शासन सञ्चालनमा नागरिकको प्रत्यक्ष आफ्ना प्रतिनिधिहरुमार्फत पहुँच हुने तुलनात्मक रुपमा संसारको सबैभन्दा उन्नत प्रणाली हामीले हाम्रो मुलुकको संविधानमार्फत स्थापित गरेका छौं ।’’
यसैगरी, मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको पनि उहाँले बताउनुभयो । उहाँले बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा परिरहेको धारणा राख्नुभयो ।
उपप्रधानमन्त्री खड्काले पुँजीगत खर्च अपेक्षाकृत रुपमा हुन नसक्नु र राजश्व परिचालन पनि अपेक्षाकृत रुपमा बढ्न नसक्नुले अर्थतन्त्रलाई लयमा ल्याउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिनुभयो । उहाँले सरकार र निजी क्षेत्रसहित सबै एकतावद्ध भएर समन्वयात्मक तरिकाले काम गरे अर्थतन्त्रलाई लयमा ल्याउन सकिने बताउनु भयो । उहाँले मुलुकसँग यतिबेला १० महिनाभन्दा बढी समयको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति रहेको पनि बताउनु भयो । अर्थतन्त्रका धेरै परिसूचकहरु अझै पनि पूर्णतः जोखिममुक्त भइ नसकेको उल्लेख उहाँले गर्नुभयो ।
उपप्रधानमन्त्री खड्काले गलत तरिकाले आमनागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने कुरालाई सबैले सामूहिक रुपमा जवाफ दिन जरुरी रहेको बताउनु भयो । उहाँले शासकीय सुधारहरु, सुशासन र आम नागरिकका अपेक्षाहरु, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झण्झटिला प्रक्रियाहरुलाई छिटो छरितो तरिकाले तीव्र गतिमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।
सूचनामार्फत खड्काले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनु भयो । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दो क्रममा रहेकाले लगानी बढ्ने अपेक्षा सरकारले गरेको बताउनु भयो । उहाँले घरजग्गा कारोबार र पुँजीबजारमा देखिएको शिथिलता समाधानका लागि सरकारले नीतिगत रुपमा नै कदम चालिसकेको जानकारी दिनुभयो । सूचनामार्फत खड्काले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक संवाद र सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको भनाइ व्यक्त गर्नुभयो । गोरखापत्र अनलाइनबाट
