प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनअपेक्षाअनुसार काम गरिरहेको बताउनुभएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘मेरो एक वर्षे कार्यकालमा केही रेकर्डहरु बनेका छन्, यो सरकारले मिटरब्याज पीडित गरिब, किसानलाई उहाँहरुको पीडाबाट मुक्त गराउने काम गरेको छ’ उहाँले भन्नुभयो, ‘विदेशमा रहेका नागरिकताबिहीन लाखौं युवाहरुलाई नागरिकता दिने काम भएको छ, उनीहरुलाई सामाजिक सुरक्षाकोषमा आवद्ध गरिएको छ ।’
सरकारको एक वर्षे कार्यकाल पूरा गरेको दिन मंगलबार आफूलाई जनतालाई जानकारी गराइसकेको उहाँले बताउनुभयो । अन्य थुप्रै प्रयास समेत गरिएको उहाँको भनाइ छ । ‘ठूला परियोजना सुरु भएका छन्, हुनेक्रममा छन्’ उहाँले भन्नुभयो, ‘नेपाललाई विश्वमा ध्यानाकर्षण गर्ने काम भएको छ । यहाँको समस्याहरु संयुक्त राष्ट्रसँगमार्फत विभिन्न फोरममा उठाउन सरकार सफल भएको छ ।’
राजनीतिक दलविचको एकता र सहकार्यले देशमा स्थायित्व ल्याएको उहाँले बताउनुभयो । यसलाई बलियो बनाएर लैजाने उहाँको प्रतिवद्धता छ । ‘यो गठबन्धनलाई कसरी तोड्ने होला ? यो परिवर्तनलाई कसरी उल्ट्याउने भनेर लागिपरेका छन् । जनतालाई नकरात्मक कुरा मात्र देखाएर भड्काउने काम भएको छ’ उहाँले भन्नुभयो, ‘गठबन्धन झनै बलियो भएको छ । हाम्रो एकता देखेर बिरोधीहरु अत्तालिएको अबस्था छ । यो गठबन्धन पाँच वर्ष जान्छ ।’
कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सीमित साधन स्रोतका बाबजुद खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका जनअपेक्षाअनुसार काम गरिहेको बताउनुभयो । ‘हामीले एक घर एक धारा कार्यक्रमलाई जोड दिइरहेका छौं । धेरै घरमा खानेपानी पुगिसकेको छ’ उहाँले भन्नुभयो, ‘सडक, भवन पूर्वाधार बिकास, कृषि, पर्यटन र जनताको जिवनस्तर उकास्नेखालका थुप्रै योजना र कार्यक्रम प्रदेश सरकारले अघि सारेको छ । यसले यो क्षेत्रको बिकास र समृद्धिमा टेवा दिन्छ भन्ने हाम्रो विश्वास छ ।’
यसैविच प्रधानमन्त्री प्रचण्डलाई सो क्षेत्रका माओवादी नेता कार्यकर्ताले ध्यानाकर्षण समेत गराएका छन् । नेकपा (माओवादी केन्द्र) को अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड पार्टीले सञ्चालन गरेको तीन महिने अभियान अन्तर्गत वारपाक सुलिकोट गाउँपालिका –८ को पार्टी कमिटी बैठकमा सहभागी हुन गोरखा पुग्नुभएको थियो । सो ठाउँबाट गत प्रतिनिधिसभा निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको गोरखा निर्वाचन क्षेत्र नम्वर–२ अन्तर्गत पर्दछ ।
‘चुनावको बेला आफ्नो निर्वाचन क्षेत्रभित्रका सडकलाई धुलोरहित बनाउँछु भन्नुभएको थियो’ वारपाक सुलिकोट –४ सौरपानीका हरि पनेरुले भन्नुभयो, ‘निर्वाचित हुनुभएको र प्रधानमन्त्री भएको एक वर्ष पूरा भइसक्यो तर बाचाअनुासर काम भएको छैन ।’
प्रधानमन्त्रीको निर्वाचन क्षेत्रभित्र पर्ने सौरपानी वारपाक सडकमा बजेट अभाव भएको, घ्याम्पेसाल ताकुकोट सडक कालोपत्रेमा ढिलाइ भएको, ढोडेनीदेखि रञ्चोकसम्मको सडक कालोपत्रे नभएको, खानेपानीको व्यवस्था नभएको उहाँले प्रधनमन्त्रीसँग गुनासो गर्नुभयो । गोरखा क्षेत्र २ का सांसद समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले सो अवसरमा निर्वाचनपूर्व गरेका सबै प्रतिवद्धता पूरा गर्ने बाचा गर्नुभयो । गोरखापत्र अनलाइनबाट
