राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गर्नुभएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले ख्वप विश्वविद्यालयको विधेकय तत्काल ल्याउन आग्रह गर्नुभयो ।
प्रमुख सचेतक परियारले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुङ्गामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको भन्दै प्रश्न गर्नुभयो । उहाँले ख्वप विश्वविद्यालयले देशभरका विद्यार्थीहरुलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको पनि चाप बढिरहेको दाबी गर्नुभयो ।
‘‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् । सरकार समाजवादउन्मुख भन्छ, शिक्षा महङ्गो छ । ख्वप कलेज भत्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज हो । त्यसले न्युनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन् ।’’ प्रमुख सचेतक परियारले भन्नुभयो, ‘‘विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्युलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको थिएँ । शिक्षा नेपालको मेरुदण्ड हो । विकासको मेरुदण्ड हो । ख्वप कलेजमा पढ्नेको सङ्ख्या बढ्दो छ । शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुङ्गामाटो पनि नभएको विधेयक ल्याउनुहुन्छ तर ख्वप विश्वविद्यालयको विधेकय किन ल्याउनु हुन्न । तत्काल विधेयक ल्याइयोस् ।’’
उहाँले सरकार समाजवादउन्मुखको नारा लगाइरहे पनि शिक्षा महङ्गो भइरहेको बताउनु भयो ।
