
भरतपुर । मगर चलचित्रकर्मी संघको पाँचदिने प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला कार्यक्रमबाट छवटा लघुचलचित्र निर्माण सम्पन्न भएको छ ।

चलचित्र विकास बोर्डको आर्थिक सहयोग र आदिवासी जनजाति चलचित्र महासंघको सहकार्यमा पाँचदिने चलचित्र निर्माण प्रयोगशाला कार्यक्रमको उद्घाटन आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईको प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।

कार्यक्रममा भिमाद नगरपालिका वडा नं २, रघुगाउँका अध्यक्ष दिनेश थापामगरको विशेष आतिथ्यतामा चलचित्र विकास बोर्डअन्तर्गत मातृभाषी चलचित्र प्रवर्द्धन समितिका सदस्य सगीना सुनुवार, होमस्टे अध्यक्ष रुमबहादुर थापामगर, मगर चलचित्रकर्मी संघका निवर्तमान अध्यक्ष तथा उपाध्यक्ष युवराज मास्की रानामगर र मेजन पुनको आतिथ्यतामा पाँच दिनसम्म निर्माण प्रयोगात्मक कार्यशाला तनहुँको रघुगाउँमा भएको थियो ।

आदिवासी जनजाति महासंघमा आबद्ध भएका जातीय चलचित्रकर्मी संघहरुलाई पनि प्रतिनिधिको लागि आह्वान गरिएकोमा बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागी रह्यो भने कुमालजातीबाट छविलाल कुमाल पनि सहभागिता रहेको थियो ।

२५ जना सहभागीमध्येबाट छनोट भएका छवटा कथालाई स्क्रिप्ट बनाएर रघु गाउँको विभिन्न ठाउँमा सहभागीहरुले चलचित्र निर्माण गरेका थिए । रघु गाउँ विश्वयुद्धका योद्धा भिसी नेत्रबहादुर थापामगरको गाउँ हो । तीनै वडाको एउटै गाउँ भएको यस वडामा होमस्टे सञ्चालनमा रहेको छ।

सोही रघुगाउँ होमस्टेमा बसेर चलचित्रकर्मीहरुले स्थानीय कलाकारहरुसहित चलचित्र निर्माण गरेका थिए । कार्यक्रम मगर चलचित्रकर्मी संघका अध्यक्ष भीम रानामगरको अध्यक्षतामा सम्पन्न भएका थियो ।

