एकादेशमा हामी खच्चडहरु
नेपाल भन्ने देशमा पश्चिम भेगतिर
अँ साँच्चै नदीको नाम
कर्णाली थियो क्यारे !!
नदी माथि नेपालको सरकार
जस्तै निकै कमजोर थियो
एउटा झोलुंगे पुल
हामी यात्रा गर्दै थियौं
त्यही झोलुंगे पुलको बाटो हुँदै
अचानक झोलुंगे पुलको लठ्ठा चुँडियो
हाम्रो यात्रा अघि बढ्न सकेन
हाम्रा खुट्टाहरु लरबराउन थाले
अड्किए खुट्टाहरु
हामी नेता थिएनौं
न हाम्रो आवाज सुन्ने कोही थिए
न त हामीलाई उद्दार गर्न हेलिकप्टर नै आयो
हामी त खच्चड थियौं खच्चड
हामीलाई पनि बाँच्ने इच्छा
नभएको कहाँ हो र
अन्तत हामी मध्ये केहीले जीवन गुमायौं
भोलि पर्सि
यदि कसैले यो देश र सरकार बारे
सोधिहाले भने
यही तस्बिर देखाइदिनु
हाम्रै कथा सुनाइदिनु
खच्चड र झोलुंगे पुलको कथा !!
