भरतपुर । चितवनको भरतपुरका हुने प्रथम मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता एवम् महिला यथलेटिक्स फिजिक्स २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो ।
यही असोज १२ गते भरतपुर स्थित चितवन मिडटाउन रिर्सोटमा हुने सो प्रतियोगिताको मेडल समेत सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा शारीरिक सुगठन तथा फिटनेश महासंघका सचिव दिनेश कुमार राजभण्डारीले मेडल सार्वजनिक गरेका हुन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र महसंघका केन्द्रीय अध्यक्ष राजेशबाबु श्रेष्ठले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२०८१ सालको बडादशैँ अबसर पारेर उक्त प्रतियोगिता गर्न लागिएको शारीरिक सुगठन तथा फिटनेश संघ चितवनका अध्यक्ष प्रकाश गुरुङले बताए । प्रत्येक दुई–दुई वर्षमा आयोजना गर्ने उद्देश्य सहित प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा वजन समूहको टिमको सहभागिता हुनेछ । जसमा ५५, ६०, ६५, ७०, ७५, ८० केजी तौल समूहबीच प्रतिस्पर्धा गराइने उनले बताए । प्रतियोगितामा एउटा क्लव वा संस्थाबाट एउटा बजन समूहमा बढीमा २ जना खेलाडीहरु गरी जम्मा १० जना खेलाडीहरु र १ जना टिम मेनेजरले भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउने छन् । त्यस्तै गरी शारीरिक सुगठनको विधा अन्तर्गत हुन गईरहेको महिला एथलेटिक्स फिजिक्स प्रतियोगितालाई खुल्ला समूह अन्तर्गत खेलाईनेछ ।
महिला तर्फ हुने ओमन एथलेटिक्स प्रतियोगितामा विजेता हुनेले ५० हजार, सेकेण्ड हुनेले २५ हजार र तृतीय हुनेले १५ हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ । प्रत्येक समूहमा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः रु ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिनेछ । फाइनल प्रतियोगितामा पुरुषतर्फ प्रत्येक समुहको समूहगत विजेता खेलाडीहरु विच प्रतिस्पर्धा गराई ओभरअलमा प्रथम हुने खेलाडीलाई ‘मिष्टर चितवन’को उपाधि साथै नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार, ट्रफि तथा व्यानेटले सुसज्जित गरिने संघका उपाध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । कार्यक्रम संचालन संघका सचिव वीरबहादुर रानाले गरेका थिए ।





