प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागि हुन थाइल्याण्ड प्रस्थान गर्नुभएपछि प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । मन्त्रिपरिषदमा सिंह दोस्रो वरीयतामा भएकाले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई तोक्नुभएको हो ।
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मा सहभागी हुन मङ्गबलार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘‘राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ,’’ राष्ट्रपति कार्यालयकम प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गोरखापत्र अनलाइनबाट
