चितवन, कार्तिक ११ २०८२। हरेक वर्ष झै कार्तिक महिनामा खेतमा धान पाकेर झुल्ने, काटेर घरमा धान भित्र्याउने र किसानको मुहारमा खुशी ल्याउने समय हुन्थ्यो। तर यस वर्ष को सोही समयमा भने आकाशमा बादल छाएका छन् र लगातारको वर्षा परि खेतमा पाकेर झुलेका तथा सुकाउन राखेको धानलाई कुहिने, रुखिने र नष्ट हुनेसम्मको खतरा बढेको छ। नेपालको धान उत्पादनको उर्भर भूमी भनिने चितवन लगायतका तराई र भित्री मधेशका जिल्लाहरूमा बेमौसमी वर्षाले किसानको आर्थिक आधारलाई नै ढल्ने अवस्था ल्याइदिएको छ।
नेपालको मौसम विज्ञान विभागको अनुसार, यस कात्तिक महिनामा बंगालको खाडीको वायुको प्रभावले गर्दा वर्षा सिर्जना गरेको छ जसलाई सरल भाषामा बेमौसमी वर्षा पनि भनिने गरिन्छ। यो वर्षा मनसून पछि हुने पोस्ट मनसुन हो जुन पाकेको धान र काटेको धान लाई अभिशाप साबित भएको छ। चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु तथा अन्य धान खेती हुने जिल्लाहरू यसको सीधा प्रभाव क्षेत्रमा पर्छन्।
कृषि विभाग, चितवनको एक प्रारम्भिक अनुमान अनुसार जिल्लाको करिब ३०% धान खेतिहरूमा कटाई पछिको वर्षाको कारण निकै नोक्सानी भएको छ। जसमध्ये १५% खेतिहरूमा भिजेको धान रुखिएर नष्ट भएको छ भने बाँकीमा गुणस्तर र उत्पादनमा ठूलो गिरावट आएको छ।
लगातारको पानीले धानका बालाहरू भूइँमा झरेका, रुखिएका र केही ठाउँमा पानीमै डुबेका छन्। कृषि विशेषज्ञहरूको अनुमान छ कि यस वर्ष चितवनमा हेक्टरप्रति धान उत्पादन ०.५–०.७ टनले घट्न सक्छ। जिल्लाभरि नै उत्पादनमा २०-२५% को कमीको सम्भावना रहेको छ।
बेमौसमी वर्षाको सबैभन्दा ठूलो असर धानको गुणस्तरमा परेको छ। भिजेको धान सुकाउन नपाएकाले त्यसमा ुअल्फालाटोक्सिनु जस्ता फंगस लागेको छ। यसले गर्दा धानको रंग खराब हुन्छ, चामल गुणस्तर घट्छ र स्वास्थ्यका लागि पनि हानिकारक हुन सक्छ। यस धानको चामल बजार भाउ पाउदैन जसले गर्दा बजारमा यसको मूल्य सामान्यभन्दा ३०-४०% ले झर्छ ।
किसानको वेलौना -चितवनको भरतपुर महानगरपालिका -२० का किसान श्री नरेश सुवेदी आफ्नो पाकेको धान बारम्बार हेर्दै दु:खले भन्छन्,” एक वर्षको मेहेनत पानीमा बग्यो। पानीले सबै धानलाई भिजायो । अब यो धानबाट राम्रो चामल निस्कने त छैन र बजारमा पनि भाउ पाउने छैनौं। घरभरिको खाने, बच्चाहरूको पढाइँ, सबै यसैमा टिकेको छ।”
यस समस्याको दीर्घकालीन समाधानका लागि निम्न कदमहरू जरुरी छन् । नेपालको मौसम विभागले सबै ग्रामीण स्तरसम्म पुग्ने गरी राम्रो मौसम पूर्वानुमान र सुचना प्रणाली विकास गर्नुपर्छ। सरकारले धानको बीमालाई अझ प्रभावकारी बनाएर किसानलाई आर्थिक सुरक्षा प्रदान गर्नुपर्छ। खेतबाट पानी निकासी गर्ने उचित व्यवस्था भएमा पनि नोक्सानी न्यूनीकरण गर्न सकिन्छ। कटाई पछि धान सुकाउने र भण्डारण गर्ने आधुनिक सुविधा किसान सहकारीहरूमार्फत उपलब्ध गराउनुपर्दछ।
बेमौसमी वर्षा केवल प्रकृतिको उत्प्रणा मात्र होइन, यो हाम्रो कृषि प्रणालीमा रहेको कमजोरी पनि हो। जलवायु परिवर्तनको यो सीधा असर हो। चितवन जिल्लाको उदाहरणले पनि देखाएको छ कि अब केवल रोप्ने र काट्ने भन्दा मात्रै हुँदैन, धानलाई अप्रत्याशित प्रकोपबाट जोगाउने पूर्वतयारी पनि उत्तिकै जरुरी छ। सरकार, नीति निर्माता र स्थानीय स्तरमा सबैले मिलेर यस चुनौतीलाई अवसरमा परिणत गर्ने प्रयास गर्नुपर्छ, ताकि किसानको पसिना र देशको खाद्य सुरक्षा बचाउन सकियोस्। बेलैमा बुद्धि विवेक प्रयोग गर्न सके धान उत्पादन घट्नबाट बच्छ र उत्पादन बढ्छ सँगै गुणस्तर पनि रहिरहन्छ।
