काठमाडौं । काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको अवस्था उपचारका क्रममा नाजुक बनेको थियो। बोल्नसमेत नसक्ने अवस्थामा रहेका कालाथोकीलाई चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ। घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
