धनुषा । धनुषाको नगराइन नगरपालिका–५ स्थित खिरखिरिया जाने भित्री बाटोको छेउमा रहेको झाडीबाट १०७ किलोभन्दा बढी अवैध लागूऔषध गाँजा बरामद भएको छ।
प्रहरीका अनुसार २०८३ भदौ १८ गते राति करिब २ः३० बजे उक्त स्थानमा गाँजा लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली खटिएको थियो।
प्रहरी टोलीले घटनास्थलमा खोजतलास गर्ने क्रममा प्लास्टिकमा बेरिएका नौ पोका गाँजा फेला पारी नियन्त्रणमा लिएको थियो। बरामद गाँजा इलाका प्रहरी कार्यालय लग्माजटहीमा ल्याएर तौल गर्दा प्लास्टिकसहित १०९ किलो रहेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिक हटाएर पुनः तौल गर्दा गाँजाको वास्तविक तौल १०७ किलो ९९८ ग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। घटनामा गाँजा कसले र कहाँबाट ल्याएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
