काठमाडौं । सामाजिक सहिष्णुतामा आघात पुर्याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने अभिव्यक्ति दिइएको भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका अनुसार २०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिका विषयमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने तथा अपमानित गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने अभिव्यक्तिसहितको भिडियो बनाई सामाजिक सञ्जाल फेसबुकको रिल्समा प्रसारण गरिएको थियो।
उक्त भिडियोका सम्बन्धमा साइबर ब्यूरोले गरेको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट भिडियो प्रसारण गर्ने व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी वतन भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, बलम्बु बस्ने २४ वर्षीय युवकलाई साइबर ब्यूरोबाट खटिएको टोलीले २०८३ भदौ २० गते पक्राउ गरेको हो।
पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा जातजाति तथा समुदायबीचको सामाजिक सद्भाव र सहिष्णुतामा आघात पुग्ने किसिमका सामग्री प्रसारण नगर्नसमेत सचेत गराएको छ।
