म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२, खबरामा ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका नाती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मनकुमारीकी छोरीका छोरा बेनी नगरपालिका–२ बस्ने २६ वर्षीय आशिष बरुवाल रहेका छन् । प्रहरीका अनुसार बरुवालले सोमबार बिहान करिब ११ः३० बजे मनकुमारीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बरुवाललाई बेनी नगरपालिका–२ स्थित हाडेभिरमा भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन तथा घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
