गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङस्थित भित्री सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
बुधबार बिहान करिब १०ः३० बजे भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको महेन्द्र जिप ब्रेक फेल भएपछि सडकको नालामा खसेर भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ। जिपमा चालकसहित नौ जना सवार थिए।
दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेमध्ये सिरानचोक गाउँपालिका–२ काँउलेकी करिब ८१ वर्षीया लालमाया गुरुङ र सिरानचोक गाउँपालिका–७ का करिब ६८ वर्षीय कमलबहादुर घिमिरेको अवस्था गम्भीर रहेको छ।
त्यस्तै, सिरानचोक–७ की करिब ४८ वर्षीया सीता पाण्डे, सोही स्थानका करिब ४८ वर्षीय लोकबहादुर खड्का, करिब ७३ वर्षीय कुलबहादुर सार्की, सिरानचोक–६ सिम्लेकी करिब ६८ वर्षीया सीता गुरुङ, सिरानचोक–७ डाँडागाउँकी करिब २७ वर्षीया रोजिना नेपाली र उनकी २१ महिनाकी छोरी रेविका नेपालीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको छ।
जिप चालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
