पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङ गोलफानमा पहिरोले दुईवटा घर पुरिँदा एक महिला बेपत्ता भएकी छन्।
अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले स्थानीयका ढुङ्गा–माटोले बनेका तथा जस्तापाताले छाएका तीनतले कच्ची घर पुरेको हो। पहिरोमा परी केसुराम सारु मगरकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु घरभित्रै पुरिएर बेपत्ता भएकी छन्।
घटनामा उनका परिवारका अन्य सदस्य भने सकुशल रहेको बताइएको छ। घरभन्दा करिब २०० मिटर माथि रहेको मोटरबाटोबाट पहिरो र लेदो निरन्तर बगिरहेका कारण तत्काल खोज तथा उद्धारमा कठिनाइ भइरहेको छ।
बेपत्ता कृष्णकुमारीको खोज तथा उद्धारका लागि आवश्यक पहल भइरहेको जनाइएको छ।
