नवलपरासी । नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टाँगिकोटस्थित नारायणगढ–बुटवल सडकखण्डको परियोजनाअन्तर्गत रहेको चिनियाँ कम्पनीको परिसरमा ट्याक्टरको ट्रली पल्टिँदा एक महिलाको मृत्यु भएको छ।
लु.२ त ६८११ नम्बरको ट्याक्टरको ट्रलीमा कम्पनीको ब्लक लोड गरिएको थियो। ट्रलीको पछाडिपट्टि बसिरहेकी देवचुली नगरपालिका–४ की करिब ४० वर्षीया मनकुमारी सोती मगर ट्रली घोप्टिँदा च्यापिएकी थिइन्।
ट्रलीको ढालाले टाउकोदेखि कम्मरसम्मको भाग च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्रली उठाएर उद्धार प्रक्रिया अघि बढाएको थियो।
घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको छ भने शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
