बझाङ । सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मिति २०८३ असोज १५ गते बिहान करिब १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक सुर्मा गाउँपालिका–४ निवासी अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
जिपमा चालकसहित तीन जना सवार रहेकोमा अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूको नाम, थर र वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
