रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन्। प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा नगरपालिका–१० स्थित चक्रहवा जंगलबाट बालिकालाई सकुशल फेला पारेको हो।
प्रहरीका अनुसार बालिका हराएको सूचना प्राप्त भएपछि खोजी अभियान सञ्चालन गरिएको थियो। सोही क्रममा उनलाई जंगलबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा तिलोत्तमा नगरपालिका–१० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुलाई प्रहरीले पक्राउ गरेको छ। थारुलाई असोज १८ गते राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जनाएको छ।
गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय, बुटवलले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
