तनहुँ । तनहुँको भानु नगरपालिका–१०, तल्लो मैदानस्थित हटिया–चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
२०८३ असोज १८ गते हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भानु नगरपालिका–१०, तल्लो मैदानका ४५ वर्षीय शंकर पाण्डेको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा दिउँसो १२ः०१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ६५ वर्षीय टंकनीति पाण्डेको लमजुङ सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहान ११ः३५ बजे मृत्यु भएको हो ।
मोटरसाइकल घटनास्थलमै रहेको छ । घटनास्थल अस्थायी प्रहरी बिट कालीमाटी, तनहुँबाट करिब ३ किलोमिटर पश्चिममा पर्छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
