सुनसरी। सुनसरीको इनरुवा नगरपालिका–३, सखुवागाछी चोकबाट लागूऔषध गाँजासहित ट्रक र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८३ असोज १८ गते राति करिब ११ः५० बजे अस्थायी प्रहरी पोस्ट सखुवागाछी सुनसरी र ट्राफिक प्रहरी कार्यालय इनरुवा सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रकलाई शङ्का लागेर रोकी जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको भित्रपट्टि लुकाइछिपाइ राखिएको लागूऔषध गाँजाजस्तो देखिने पदार्थ ८३ बोरा फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थ तौल गर्दा जम्मा २ हजार ५ सय ६६ दशमलव ५६ किलो रहेको थियो।

प्रहरीले ट्रकका चालक धनकुटाको शहीदभूमि गाउँपालिका–२ बस्ने ३३ वर्षीय राजु राई र सहचालक १८ वर्षीय सन्दिप राईलाई पक्राउ गरेको छ। उनीहरूलाई लागूऔषध गाँजा र ट्रकसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
