बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३, बोहोरागाउँमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
आज बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्। घटनामा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई माटोको ढिस्कोले पुरिएको अवस्थामा उद्धार गरिएको थियो।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
